सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउदा ७ जनाको मृत्यु, १४० जना घाइते

11.6k Shares

सूडानमा सैन्य कू को विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउदा सातजनाको मृत्यु भएका छन् भने १४० जना घाइते भएका छन् ।

सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ ।

सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर(घर गइरहेको बताइएको छ ।

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।

लामो समयदेखि शासक रहेका उमर अल–बशीरलाई दुई वर्षअघि सत्ताबाट हटाएपछि राजनेता र उनका सैन्य समकक्षबीच मतभेद चलिरहेको छ ।

बीबीसी अरबीका मोहम्मद उस्मानले राजधानी खार्तूमबाट दिएको जानकारी अनुसार सोमबार रातीदेखि नै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनी सरकारको बहालीको माग गरिरहेका थिए ।

एक घाइते प्रदर्शनकारीले मिडियासँगको कुराकानीमा उनलाई सैन्य मुख्यालयबाहिर खुट्टामा सेनाको गोली लागेको जानकारी दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार