देवपुरा रुपैठामा बाहिरबाट आएका समुहले हिन्दु-मुस्लिम गराएर साम्प्रदायिक दंगा फैलाउदै

11k Shares

धनुषा - जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा बाहिरबाट आएका केही समुहले हिन्दु-मुस्लिम समुदायबीचको विवाद गराएर साम्प्रदायिक दंगा फैलाउने खोजेको छ।  

साम्प्रदायिक सद्भाव बिथोल्न खोजेपछि स्थानीय प्रशासनले गत शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजे सम्मको लागि निषेधज्ञा लगाइएको थियो। 

केही दिनअघि छठ पर्व अन्तर्गत स्थानीय तेलिया पोखरीको डिलमा घाट निर्माणको क्रममा स्थानीय केही हिन्दु र मुस्लिम समुदायबीच समान्य विवाद भएको थियो । पछि स्थानीय प्रहरीको सक्रियतामा विवाद समाधान भयो । 

तर केही व्यक्तिले सामाजिक सञ्जाल फेसबुक तथा स्थानीय केही न्युज पोर्टलले उक्त घटनालाई अतिरञ्जित गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयले स्वयं सक्रिय भई शुक्रबार नै स्थानीय दुवै समुदायका व्यक्तिलाई बोलाएर सहमति गराएर घर पठाएका थिए ।

त्यसपछि शनिबार दिउँसो केही  समुहले जनकपुरधामबाटै नाराजुलुस लगाउँदै देवपरा रुपैठा पुगेका थिए । त्यहाँ प्रहरीले रोक्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि नै ढुङ्गमुढा प्रहार गरेपछि प्रहरीले एक दर्जन राउण्ड अश्रुुग्यास फायर गरेका थिए । प्रदर्शकारीले पनि प्रहार गरेको ढुङ्गा लागेर आधा दर्जन सुरक्षाकर्मी घाईते भएका छन् । प्रदर्शकारीमध्ये सोमनाथ यादवले आफुहरू हिन्दु धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि आएको बताए ।

यता, स्थानीय रामसोभित दासले भने, ‘गाउँ समाजमा सामान्य विवाद भइरहन्छ, त्यो ठूलो कुरो होइन । तर, केही हिन्दुवादी संघ संस्था र केही मिडियाले त्यसलाई साम्प्रदायिक रंग दिन खोजेको छ ।’ हामीलाई छठ पर्व मनाउन कुनै सामुदायबाट अवरोध नभएको बताउँदै उनले भने, ‘घाट निर्माणमा सामान्य विवाद भए पनि छठ पूजामा कुनै विवाद वा अवरोध भएन । घटना साम्य भइसकेपछि विरगञ्ज, सुनसरीलगायतका स्थानबाट आरएसएस, हिन्दुवादी तथा राजावादी समर्थक संघसंस्थाहरूले आएर नाराजुलुस गरे। हाम्रो समाजको कुरा हामी गाउँसमाजका कुरा मिलाइसकेका छौँ । तर, उनीहरू बाहिरबाट आएकाहरूले सुरक्षामा खटेका प्रहरीमाथि नै ढुङ्गगामुढा गरिरहेका छन् । ति संघसंस्थाहरूले धर्मको नाममा राजनीतिक गर्न खोजेका छन्’ उनले भने।  

स्थानीय मोहम्मद हविव कवाडीले छठ पूजामा हाम्रो सामुदायबाट कुनै अवरोध नभएको बताए । ‘हामी सधैँ मिलेर, भाइचाराअनुसार नै मिलेर बेसिरहेका छौँ’, उनले भने, ‘स्थानीय प्रहरी प्रशासनलाई सबै जानकारी छ । स्थानीयवासीबीच अहिले कुनै विवाद छैन । तर, बाहिरबाट विभिन्न संघसंस्थाहरूबाट आएका व्यक्तिहरूले साम्प्रदायिक घटना गराउन खोजेका छन् ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केही संघ संगठनहरूले घटनालाई बढाउन खोजे पनि अवस्था अहिले समान्य बन्दै गएको बताए । ‘पोखरीको विषयमा दुई सामुदायबीच विवाद देखिए पनि त्यो साम्य भइसकेको थियो’, बास्तोलाले भने, ‘हिजो शनिबार बाहिरबाट आएका विभिन्न हिन्दुवादी संगठन तथा राजावादी संघसंस्थाका व्यक्तिहरूले आएका शान्ति सुरक्षामा खल्ल पु–याउने खोजेका थिए । तर, प्रहरीको सक्रियताले अहिले अवस्था समान्य हुदै गएको छ ।’

उनले पोखरीसम्बन्धी विवादको विषयमा स्थानीय दुवै समुदायका अगुवा, जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहसहितसँग छलफल गरिने बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार