जनकपुरधाम - प्रदेश २ आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको मातहतमा प्रदेश मुद्रण छापाखानाको भवन निर्माण थालनी गरिएको छ ।
सोमबार मधेश भवनको कम्पाउन्डमा गरिएको शिलान्यास (भूमि पुजन) कार्यक्रममा मा. मन्त्री भरत प्रसाद शाहले उक्त भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहले भने प्रदेश २ मा अब आफै छापाखाना भएपछि संघको भरमा रहनु पर्दैन। प्रदेश २ को छापा मुद्रकबाट विद्यालयको किताब सानो समयमै छाप्ने र एस.ई.ई. को प्रश्न पत्र लगायत प्रदेश भित्र गोप्यता हुने र शिक्षामा व्यापक परिवर्तन आउने उहाँले बताए ।

उक्त छापाखाना निर्माणका लागि कुल लागत ३ करोड १५ लाख ४६ हजार ६ सय ८२ रुपैयाँ रहेको छ भने अतरिया निर्माण सेवा प्रालिसँग पन्ध्र महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी २ करोड चार लाख ९१ हजार पाँच सय १७ रुपियाँको लागतमा सम्झौता भएको मन्त्रालयका निमित्त सचिव सुरेन्द्र महतोले बताए ।