१५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण गर्दै पेट्रोलियम पदार्थको मूल्यमा पुुनः बृद्धि, ९० रुपैयाँ ९४ पैसामा किनेर १ सय ५० रुपैयाँ बेच्दा कसरी हुुन्छ घाटा ?   

14.1k Shares

काठमाडौँ । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बृद्धि गरिएको निगमले सूचना प्रकाशित गरी जनाएको छ ।  

सञ्चालक समितिको बिहीबारको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपियाँ बढाउने निर्णय गरेको हो । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य बृद्धि पछि अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपियाँ र  डिजल र मटितेलको मूल्य प्रतिलिटर १३३ रुपियाँ भएको छ । निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सहप्रवक्ता पुष्कर कार्कीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

पेट्रोलियम उत्पादक देश रुस र युक्रेनबीचको युद्धका कारण अहिले पेट्रोलियमको मूल्य आकाशिएको बतार्एएको छ । नेपालमा पेट्रोलियमको एकमात्र आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सोमबार मात्रै पठाएको अघिल्लो १५ दिनको नयाँ मूल्य सूचीअनुसार निगमलाई १५ दिनमै करिब ३ अर्ब ९ करोड रुपैयाँको घाटा हुने निगमले जनाएको छ । 

यसअघि पनि कोभिड–१९ को महामारीका कारण विश्व बजार, आयात, निर्यात र ढुवानी नै प्रभावित हुँदा तेलको भने मूल्य बढेको थियो । त्यसो त नेपाल जस्ता पेट्रोलियममा पूर्ण रूपमा आश्रित देशले संकटको बेला खपत कम गर्नु उपयुक्त हुन्छ तर, खपत कम गर्ने भन्दैमा जनताले बोक्नै नसक्ने गरि भार पनि त बढाउनुु भएन । यता नेपाल आयल निगमका अधिकारीहरू भने उपभोक्तालाई मार पर्ने गरी मूल्य बढाउन आयल निगमलाई रहर नभएको बताउछन । 

भारतीय आयल निगम (आईओसी)ले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ९४ पैसामा दिन्छ । तर, नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि पुनः भाउ बढाएर १ सय ५० रुपैयाँ पुर्याएको छ । यति हुुदाँ हुुदै पनि निगम भन्छ, ’प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा छ।’ 


निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती 

यसैबीच, पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब रु ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ । 

यस्तै निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३.३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।
 
आगामी १५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण
पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ । 

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ । 

प्रत्यक्ष असर उपभोक्ताले भोग्दै
पेट्रोलियम पदार्थको मूल्य बढे संगै यसको प्रत्यक्ष असर भने उपभोक्ताले व्यहोरिरहनु परेको छ । एक लिटर पेट्रोल किन्दा ५८ रुपैयाँ ४९ पैसा त कर मात्रै तिरिरहेका छन्।

निगमका अनुसार भन्सार शुल्क २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ३ पैसा, सडक सम्भार ४ रुपैयाँ, पूर्वाधार विकास १० रुपैयाँ, मूल्य स्थिरिकरण कोष १ रुपैयाँ ४२ पैसा, वातावरणमा १ रुपैयाँ ५० र मूल्य अभिवृद्धि कर १६ रुपैयाँ ३४ पैसा कर जोडिन्छ । यी सबै करको बोझ उपभोक्तामाथि थोपरिएको छ। कर, ढुवानी र डिलरको कमिसन तथा प्रशासनिक खर्च जोड् दा १ सय ६६ रुपैयाँ २८ पैसा पुग्ने उपमहानिर्देशकको भनाई छ ।

पेट्रोलियम पदार्थको खपत कम गर्नु उपयुक्त 
सकेसम्म आफ्नै देशमा उत्पादन हुने बिजुलीबाट चल्ने सवारी, चुलो तथा उपकरण प्रयोग गरेर पेट्रोलियमको खपत कम गर्नु उपयुक्त हुन्छ ।

मोटरसाइकलभन्दा बढी ठूला गाडीहरुकोको प्रयोग गर्ने, मोटरसाइकलमा पनि मिलेर २–२ जना यात्रा गर्ने, साइकलमा यात्रा गर्ने, पैदल हिँडेर पुगिने ठाउँमा पैदल नै हिँड्ने, विद्युतीय राइस कुकरमा खाना पकाउने, विद्युतीय सवारी चलाउने, इलेक्ट्रिक जग वा केट्लीमा पानी तताउने, बाथरुमको तातो पानीका लागि सोलार हिटरको प्रयोग गर्ने जस्ता अनेक उपाय सकेसम्म लगाउनु उपयुक्त देखिन्छ । 


नेपालको वैदेशिक व्यापार घाटामा पेट्रोलियमको वार्षिक हिस्सा २ खर्ब रुपैयाँभन्दा पनि बढी छ । हाल बढेको मूल्य अनुसार यही अनुपातमा पेट्रोलियमको आयात बढ्दै जाने हो भने यो घाटा पनि आकासिने निश्चित छ ।

सरकारको भूूमिका कस्तो हुुनुु पर्छ त ? 
लगातार अस्विभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि आए पनि सरकार भने मुकदर्शक बनेको छ ।

सत्ताका लागी मरिमेट्ने नेताहरु जनताका पिडामा मलम लगाउनुु त टाढाको कुुरा सोध्न पनि आईपुुग्दैनन् । नेपाल जस्ता पेट्रोलियममा पूर्ण रूपमा आश्रित देशले संकटको बेला खपत कम कसरी गर्न सकिन्छ,जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।

बैकल्पिक स्रोत र साधनको प्रयोगमा जोड दिने हो भने संकटको समयमा सहज हुुन्छ । अनावश्यक रुपमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गर्दैमा समस्याबाट मुक्त हुने अवस्था रहदैन । 

ताजा अपडेट
सम्बन्धित समाचार