आज देशको पहाडी भेगमा र भोली तराईमा धुमधामका साथ होली मनाइँदै,तराईमा भने भोलीपल्ट मनाउनुको कारण यस्तो

9.7k Shares

काठमाडौँ । आज देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । 

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट प्रतिपदाको दिन होली मनाउने चलन छ ।

वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा भोलिपल्ट मनाइन्छ  ।

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकशिपु राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् ।

उता हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान् विष्णुका ठूला भक्त थिए । बुबाले बारम्बार सम्झाउँदा पनि उनले विष्णुप्रति आफ्नो भक्ति त्यागेनन् । उनी राक्षसका राजा थिए भने भगवान विष्णु देवताका संरक्षक । यसरी आफ्नो विरोधीको पक्षमा लागेपछि हिरण्यकशिपुले प्रह्लादलाई मार्ने योजना बनाए ।

ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी उनले प्रह्लादको हत्या गर्ने योजना बनाएका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाउने योजना बनाएका थिए । तर भगवान् विष्णुको शक्तिका कारण प्रह्लादलाई केही भएन तर होलिका गलत प्रयोग गर्न खोज्दा जलिन् भन्ने मान्यता राखिन्छ । त्यो दिन फागुन शुक्ल पूर्णिमाको दिन थियो भन्ने मान्यता छ ।

अर्कोतर्फ वैदिक कालमा समेत यो पर्व मनाउने गरेको साहित्यिक प्रमाण पाइन्छ । सो समयमा यस चाडलाई ‘नवनेष्टी’ भनिन्थ्यो । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । यस्तो अन्नलाई ‘होला’ भनिन्छ, त्यसैले यसलाई होलिका उत्सवको रूपमा मनाइन्थ्यो ।

यो चाडलाई नवसंवत्सरको आगमन तथा वसन्तगमको उपलक्ष्यमा गरिएको यज्ञको रूपमा पनि मान्ने गरिन्छ । केही मानिसहरू यस चाडलाई अग्निदेवको पूजा गरेर पनि मनाउने गर्छन् । मनुको जन्म पनि यही दिन भएको मान्ने चलन छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार