काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उनले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गरेका हुुन् ।
बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माको भनाई छ । उनले भने, ‘सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवर्द्धन गर्ने योजना छ ।’
शर्माले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागेका थिए ।युक्रेन र रुसबीचको युद्धका कारण देशमा ठूलो असर परिरहेको उनले उल्लेख गरे ।
कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।