काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह यही वैशाख ९ गते आउँदो शुक्रवार नेपाल आउने भएको छ ।
अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेकन हुन् । उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने भएका छन् ।
उनले नेपालसँगै पोल्यान्ड, यूएई, भारत र जर्मनीको नौ दिने भ्रमण गर्ने छन् । नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाण्डौ आउँदा सिनेटर केली पनि सँगै आउनुभएको थियो ।