एजेन्सी
एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्।
चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।
क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्।
मार्च १२ तारिखमा क्वाड शिखर सम्मेलन भएलगत्तै मार्च १९ मा रूस–चीन शिखर सम्मेलन आयोजना भएको थियो। सम्मेलनका बेला एसियाका दुई शक्तिशाली देशले नयाँ गठबन्धन प्रस्ताव गरेका हुन्।
रूस र चीनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा एसिया प्रशान्त क्षेत्रका मुलुकहरूको सुरक्षा चिन्ता हटाउन क्षेत्रीय सुरक्षा संवाद मञ्च स्थानीय गर्ने प्रस्ताव राखिएको उल्लेख छ।
साथै, अमेरिकालाई हालैका वर्षमा वैश्विक शान्ति र विकासमा भएको नोक्सानीमाथि विचार गर्न आग्रह गएिका छ। अन्य देशको घरेलू मामिलामा दख्खल नदिन र क्षेत्रीय टकराव लिन छोटा छोटा समूह बनाउन छाड्न पनि चेतावनी दिइएको छ।
चीन र रूस पहिलदेखि नै शांघाई सहयोग संगठन (एससीओ) सुरक्षा समूहका सदस्य मुलुक हुन्। यो संगठनमा भारत पनि सहभागी छ।
रूस–चीन शिखर सम्मेलनमा दुवै देश अमेरिकामाथि खनिएका थिए। क्वाडमा अष्ट्रेलिया र जापानसमेत सहभागी छन्। रूस र चीनले अमेरिका, भारत, जापान र अष्ट्रेलिया गरी चार देश सम्मिलित क्वाड गठबन्धनप्रति निशाना साँधेका हुन्।
सन् २००७ मा जापानका प्रधानमन्त्री सिञ्जो आबेउले क्वाड गठबन्धन बनाउने प्रस्ताव राखेका थिए। यो गठबन्धनमा भारत, अमेरिका र अस्ट्रेलिया पनि आवद्ध भएका थिए। यस वर्ष सो गठबन्धनको बैठक भएको थियो।