नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि भएको कारवाहीलाई लिएर कटाक्षपूर्ण टिप्पणी गरेका छन्। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू भुसाल र पाण्डेलाई ६ महिना पार्टीको साधारण सदस्यबाट निलम्बन गरेपछि भट्टराईले त्यसमा आपत्ति जनाएका हुन्।
भट्टराईले ओलीले गरेको कारवाहीप्रति लक्षित गर्दै नेपालमा विद्वान, इमान्दार र नैतिकवानमाथि कारबाही हुने तर मूर्खहरू पुरस्कृत हुने भनेर व्यंग्य गरेका छन्।
‘ऋषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवानमाथि कारबाही हुन्छ', उनले ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, 'मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्।'
भट्टराईले सामाजिक सञ्जालमा घनश्याम र सुरेन्द्रमाथि ओलीले भद्दा मजाक गरेको पनि बताएका छन्। ‘कमरेड घनश्याम भुसाल र सुरेन्द्र पाण्डेजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ', उनले भनेका छन्।
ओलीले यसअघि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलमाथि ६ महिना लामो निलम्बनसहितको कारवाही गरेका थिए। त्यसपछि नेपालले केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी निर्माणलाई तीव्र पारिसकेका छन्।