काठमाडौ : नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले सेटिङकै कारण नेपाली समाज फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताए ।
देशभित्र र बाहिरका शक्तिहरू संवैधानिक निकायहरूसमेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने, तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए ।
समाज चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ । हामीले त्यसका विरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाईं–हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ सेटिङ । देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूको बीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो विडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौँ । प्रचण्डले भन्नुभयो । उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिस्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए ।
उनले भने, ‘कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिमाथि प्रहार हुन थालेको वेला छ यो । जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन लागेको अवस्था छ । राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतीक हुनुपर्ने हो । सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको वेला छ यो । कम्युनिस्टहरूको एकता र उनीहरूप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको वेला छ । कम्युनिस्ट आन्दोलनभित्रैबाट सबैभन्दा वैचारिक ढंगले विचलन, विसंगति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरूको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैँमा ठूलो विडम्बना भएको छ ।’
अध्यक्ष प्रचण्डले सडक विस्तारको नाममा सडकनजिकै भएका घरहरू भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए । नेपालका नेवार समुदायलाई राज्यले जे गरे पनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरूलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताए ।