काठमाडौ । नेपाली कांग्रेस नुवाकोटद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन ।
प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए। उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं।’
सरकारबाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुन:स्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए।
‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुन:स्थापनाका लागि आवाज उठाएका तीन वटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं,’ उनले भने।
पौडेलले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए। तर, यस विषयमा अन्य दलहरूसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे।
पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए। महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेसन सम्पन्न गरिने बताए।
जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत् रहेको पनि वरिष्ठ नेता पौडेलले बताए।