काठमाडौं । सोमबार संसदको बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रले विश्वासको फिर्ता लिन नसकेको भन्दै कटाक्ष गरेका छन् । उनले ओलीको अगाडि प्रचण्ड निरीह बनेको समेत बताए ।
महेश बस्नेतको कटाक्ष यस्तो छ :
- कार्यकारीको अधिकार प्रयोग गरेर प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागे पनि ओलीको अगाडि उनको केही नलागेको दाबी गरे ।
- चुनाव अगाडि गठबन्धन बनाए ।
- चुनाव जितेपछि एकीकरण गराए । सरकार बनाउँदा आधा कार्यकाल मागे ।
- कार्यकारी अध्यक्ष भएपछि भैगो भनेर छाडे। कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागे। संसद विघटन गरेर परिवर्तनको घोषणा गरे। लोकतन्त्र संकटमा पर्यो भनेर चिच्याए,' बस्नेतले भने ।
प्रचण्डले मिसन मिडिया चलाएको तथा नागरिक समाजलाई उचालेर ओलीको राजीनामा मागेको बस्नेतको आरोप छ । मिसन मिडिया चलाएर। अदालत गुहारे। निर्वाचन आयोग गुहारे। माइतीघर मण्डलामा सूर्य चिन्ह लगाए। सेटिङको हल्ला गरे,' उनले भने।
संसदको पुनर्स्थापनापछि खुसी भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका नेता माधवकुमार नेपालले लड्डु खुवाएको भए पनि अहिले अविश्वासको प्रस्ताव ल्याउन नसकेको बस्नेतको भनाई छ।
'लड्डु खाए। जसपाको अफिस धाए। विश्वासको मत फिर्ता लिन्छु भन्छन्, सक्दिनन्। अविश्वासको प्रस्ताव ल्याउँछु भन्छन्, सक्दिनन्। प्रधानमन्त्री बन्नुस भने कसैले मान्दैनन्,' उनले भने।
प्रचण्डले द्वन्दकालका मुद्दा नउठाउने प्रधानमन्त्रीको खोजी गरेको आरोप समेत लगाए।
'लडाकु प्रकरण र हेग नपुर्याउने भए प्रधानमन्त्रीको पद खाली छ। जसपा मानेन। कांग्रेस जागेन। केपी ओलीका अगाडि केही लागेन,' बस्नेतले भने।





