काठमाडौं । प्रतिनिधि सभा सदस्य रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा नआएकोप्रति टिप्प्णी गरेकी छन् ।
प्रतिनिधि सभाको शून्य समयमा प्रधानमन्त्री ओली संसदमा आउन डराएको बताइन् । ‘संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबार आउन डराउनुहुन्छ । बालुवाटार पनि सरकारी निवास हो । अब बालकोटमै गएर राज गर्दा राम्रो होला’ उनले भनिन् ।
उनले तयारी नै नगरी १६५ सडकको शिलान्यास गरिएको बताइन् । ‘तयारी नै नगरी प्रधानमन्त्रीज्युले रणनीतिक सडक बालुवाटारबाट शिलान्यास गर्नुहुन्छ । यो त नौटकी नै हो,' उनले भनिन् ।
उनले नेकपा एमालेले नयाँ बनाउन लागेको पार्टी कार्यालयप्रति पनि टिप्प्णी गरिन् । ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गर्यो रे नयाँ युगमा प्रवेश गर्यो रे । मेरो जिल्लाका बासिन्दाले अहिलेसम्म एम्बुलेन्स देखेका छैनन् । बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्नुहुन्छ । जसले राज्यको कर छली गर्न सक्छ उसैको घरमा पार्टी कार्याल्य हुन्छ ।’