नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएपछि देशका विभिन्न भागमा मूल्यबृद्धि फिर्ताको माग राख्दै प्रदर्शन सुरु भएको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । यसले उपभोक्ता मारमा परेको भन्दै ठाउँठाउँमा प्रदर्शन सुरु भएको हो । नेपाल आयल निगमले गएरातीबाट पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ ।
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर सवारी साधन रोकेका छन् । प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउँदै मूल्यवृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
उता, विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको विरोधमा चक्काजाम गरेका हुन् ।
मूल्यवृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । यस्तै काठमाडौं उपत्यकामा पनि सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध सत्ता र प्रतिपक्षसहितका सबै विद्यार्थी संगठनहरुले पनि आन्दोलन गर्ने तयारी गरेका छन् ।
विद्यार्थी नेताहरुले बताएअनुसार १५ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम तयार गरिरहेका छन् । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू ९क्रान्तिकारी०, अखिल छैटौँ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लगायतले वृद्धि भएको मूल्य फिर्ता लिने माग राख्दै आन्दोलनको तयारी गरेका हुन् ।