काठमाडौँ । देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्नेमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् ।
काठमाडौँमा आज (शुक्रबार) भएको नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यस विरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेको हो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले देशका संबैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको उनले बताए ।
उनले भने, संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिष्पर्धालाई नयाँ उचाईमा लैजान्छ भन्ने अपेक्षा भएपनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको हो। सरकारका क्रियाकलापहरु संबैधानिक संस्थाहरु भत्काउन उद्त रहेको र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयास स्वरुप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औल्याए ।