चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आउन लागेका हुन्।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए ।
भ्रमणका दौरानमा उनले कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ।
विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ मा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको हो।
परराष्ट्र मन्त्रालयले भने राजनीतिक भ्रमण भएकोले यसबारे आफूहरुलाई थाहा नभएको जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यो राजनीतिक भ्रमण भएकोले आफूहरु यसबारेमा जानकार नभएको प्रष्टिकरण दिएकी छन्।