काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा भएको बताएका छन्। शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत पीडा भएको बताएका हुन्।
उनले स्थिरता र विकासको जनचाहनामा केही नेताहरुको अतृप्त आकांक्षा कुण्ठा र इर्श्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको तर्क गरे। केन्द्रमा शुरु भएको राजनीतिक गडबडी अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको प्रधानमन्त्रीको भनाइ थियो।
उनले ट्रेड युनियन आन्दोलनले सिकाएको कुरा राजनीतिक आन्दोलनले ग्रहण गर्दा परिस्थिति यस्तो भएको धारणा पनि राखे। प्रधानमन्त्री ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता पनि जनाए। उनले भनेका छन्, ‘‘औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ। यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारिकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ।”
एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताए। स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन्।
नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्याइने बताएका छन्। यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने छ। प्रतिघण्टा पारिश्रमिक ६९ रुपियाँबाट ७७ रुपियाँ हुनेछ। ‘‘सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने छ,’’ उनले सन्देशमा भनेका छन्।
उनले भनेका छन्, ‘‘यसको सुरुवात यसै आर्थिक वर्षबाट लागू हुने गरी दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदारर कर्मचारीहरूबाट गरिने छ।” उनले तत्काल विवरण प्राप्त नौ हजार ८४० सङ्घीय कार्यालयमा कार्यरत कर्मचारीबाट यसको सुरुवात गरिने बताएका छन्।
कोरोनाविरुद्धको खोप सबैलाई छिट्टै सम्पूर्ण नेपालीलाई छिट्टै खोप उपलब्ध गराउनेमा उनले प्रतिबद्धता व्यक्त गरेका छन्। सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको दावी गर्दै उनले हालसम्ममा पहिलो डोज खोप लगाउनेको सङ्ख्या १९ लाख नाघिसकेको बताएका छन्।
पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा पुगेको तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ रहेको दावी गर्दै ओलीले महामारीपछि शैयामा ३८.४ प्रतिशत थप गरिएको उल्लेख छ। यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएको र अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने उनको बताएका छन्।
आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप आठ हजार शैया थप हुने सन्देशमा उल्लेख छ। यसैगरी आईसीयू शैय्या चार सय थपिएको, भेन्टिलेटरसहितको शैय्या तीन सय र उच्च निर्भरताका लागि दुई हजार शया थपिएको छ। कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा तीन सय शैय्या र सबै प्रदेशमा ५० बेडका सङ्क्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको पनि उनले सन्देशमा उल्लेख गरेका छन्।