पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
उनलाई इस्लामावादस्थित हाई कोर्ट बाहिरबाट प्रहरीले पक्राउ गरेको हो। खानलाई अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
उनी पक्राउ परेपछि इस्लामावादमा धारा १४४ लगाइएको र त्यसको उल्लंघन गरे कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।
‘पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट पक्राउ गरिएको छ। वकिल र सर्वसाधारणलाई टर्चर दिइएको छ। इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानतर्फ लगेका छन्। इस्लामावाद हाई कोर्टका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा पेश गर्न भनेका छन्,’ खानको पार्टी पीटीआईका नेता फवाद चौधरीले ट्वीटरमा भनेका छन्।