पुरूषोत्तम खनालको आजै राजिनामा तथा आजै स्विकृत हुनुले दूरसञ्चार क्षेत्र आज निकै तातेको छ । विभिन्न समयमा आर्थिक चलखेलको आरोप झेल्दै आएका खनाललाई आज सरकारले राजिनामा गर्न वाध्य बनाएर रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ 'क' बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।
दूरसञ्चार नियमावलीको नियम ३ 'क' अनुसार कुनै कारणले अध्यक्ष पद रिक्त भएमा सरकारले अध्यक्षको पदपूर्ति नभएसम्मका लागि सदस्य वा प्राधिकरणको कुनै वरिष्ठ निर्देशकलाई बढीमा छ महिनासम्मका लागि कार्यवाहक अध्यक्ष तोक्न सक्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले पेश गरेको राजिनामा स्वीकृत गर्ने र रिक्त अध्यक्ष पदमा नियुक्तीको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने आजको बैठकले निर्णय गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले २०७६ साउन ९ गते अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यकाल २०८१ साउन ९ गते सकिनेवाला थियो ।उनले भने स्वैच्छिक राजिनामा दिएको बताएका छन् ।
यस्ता छन् खनाललाई लागेका आरोपहरू
१. ठुलो चलखेलको आशंखामा एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।
२. खनालले टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) (३ अर्ब १२ करोडको परियोजना) मा अनियमितता गरेको आरोप खेपिरहेका छन्।
३. उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ भने अक्तियारले समेत छानविन गरिरहेको छ ।
४. स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको
५. अवैधानिक हिसाबले सिजी टेलिकमलाई लाइसेंस दिन रोकेको ।
विद्युतीय माध्यमबाट विद्युतीय वस्तु तथा सेवा खरिद गर्ने कार्यविधि २०७६ पनि खारेज गरेकोमा पनि खनालले आर्थिक प्रभावबाट प्रभावित भएको आरोप खेप्नुपर्छ परेको थियो ।
दूरसञ्चार मा ठुलो भुमिका खेल्दै आएको एनसेलको प्रभावमा परेर पनि केहि अन्य टेलिकम विरूद्ध गैरकानुनी निर्णय गर्दै आएको खनालले आरोप खेप्दै आएका थिए ।