कोभिड नेपालः काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञाबारे सीडीओहरू के भन्छन्

10.5k Shares

दशैँको चहलपहलसँगै कोरोनाभाइरस सङ्क्रमण दरमा पनि वृद्धि देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्क हेर्दा पाँच दिनअघि अर्थात्‌ असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

त्यसको चौथो दिन अर्थात् कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दशैँअघि सङ्क्रमण दर पाँच प्रतिशतको हाराहारीमा रहेकोमा मङ्गलवार १० प्रतिशत पुगेको हो।

प्रवक्ता पौडेल भन्छन्, 'एक-दुई दिनका तथ्याङ्क हेरी सङ्क्रमण दर फेरि बढ्न थालेको भनेर निष्कर्षमा पुग्न सकिँदैन। तर चाडबाडका बेला आवतजावत लगायतका गतिविधि बढ्दा सङ्क्रमण दर चाहिँ बढेको हुन सक्छ।'

चाडबाडका बेला रोकिएका पीसीआर र एन्टिजन परीक्षणका नतिजाहरू एकै पटक आउँदा सङ्क्रमित बढेको हुन सक्ने सम्भावना पनि उनले औँल्याए।

प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणको पछिल्लो प्रवृत्तिबारे निष्कर्षमा पुग्न अबका केही दिनको तथ्याङ्कको विश्लेषण गर्नुपर्ने हुन्छ।

सङ्क्रमणसम्बन्धी दुई-चार दिनयताको तथ्याङ्क हेर्दा खासगरी काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्छ कि भन्ने कतिपयले आशङ्का गर्न थालेका छन्।


तिहारमा निषेधाज्ञा जारी होला ?
काठमाण्डू उपत्यकाका तीन जिल्ला प्रशासनहरू 'पर्ख र हेरुको नीति लिएको देखिन्छ।

भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपील गरिएको भए पनि त्यस्तो हुन नसकेको महसुस गरेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन्।

तिहारका बेला निषेधाज्ञा लागु होला त भन्ने जिज्ञासामा उनले भने, 'अब छिट्टै नै जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठको सन्दर्भमा थप सङ्क्रमण फैलिन नदिनका लागि कस्तो रणनीति अपनाउने भन्नेबारे टुङ्गोमा पुग्छौँ।'

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय दशैँका बेला सङ्क्रमण बढ्न सक्ने आकलनका आधारमा सकेसम्म कम आवतजावत गर्न आफूहरूले अपील गरेको स्मरण गर्छन्।

सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने उनले बताए।

'सङ्क्रमणको हिसाबले एक-दुई दिनयता देखिएकै प्रवृत्ति जारी रह्यो भने कडाइ गर्नुपर्ने अवस्था देखिएमा आवतजावत घटाउने क्रमिक कदमहरू चाल्न सकिन्छ,' उपाध्यायले भने। बीबीसीबाट

 

ताजा अपडेट
सम्बन्धित समाचार