काठमाडौं: केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर बुधबार दिउँसोसम्मा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
यस्तै हालसम्म विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना रहेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै पहिरामा परेर हुम्ला, धनकुटा र पाँचथरमा ६र६ जना, बैतडीमा ४ जना, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा २ र उदयपुरमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना, डोटीमा एक, प्यूठानमा दुई र इलाममा ५ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।
असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाढी र पहिरोमा परेर हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।