बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

8k Shares

काठमाडौं :  मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ।  बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ ।

यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३र१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार