राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अस्थिरता बढेको मुख्यमन्त्री शाक्यको आरोप

9.9k Shares

काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको आरोप लगाएकी हुन् ।

सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो । 

आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् । मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो । बागमती प्रदेश सरकार र आफ्नो पार्टी नेकपा एमाले प्रदेशवासीका आकांक्षा पूरा गर्न प्रतिवद्ध रहेको पनि उनले प्रस्ट पारिन् । मुख्यमन्त्री शाक्यले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएका उपलब्धि पनि सुनाइन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकारले सफलता पाएको उनको भनाइ थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार