काठमाडौँ: नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ स्थगित भएको छ ।
उनको मुद्दामाथि आज (शुक्रबार) पेसी तोकिएको भएपनि आज सुनुवाइ हुन भने सकेन ।
विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।