काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार आह्वान गरिएको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेस र सत्तारुढ एमालेले माग गरेका छन् ।
मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो ।
तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशन अन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।
एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई सम्बोधन गरी बुझाएको पत्रमा १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ ।
यसअघि आइतबार नै कांग्रेसले पनि प्रदेशसभाको आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो ।