काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दाबी गरे ।
उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैँले आफैँलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए।
विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुट्न विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई समेत सचेत गराए ।
मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे ।