काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो ।
प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत छन् ।
प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नेछन् । सम्बोधनको क्रममा उनले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्नेछन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।