काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक बोलाएको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुङ्ग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।
जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो । नेपाल बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन ।