फेरी थपियो एमालेको १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या

8.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर १ हजार ९ सय ९९ बनाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको संख्या ४ सय थपेको हो। 

केन्द्रीय कमिटीमा संख्या बढाउनुपर्ने सुझाव आएपछि संख्या बढाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले भूगोलमा संख्या बढ्ने बताए। भूगोलमा १ हजार १ सय ९६ संख्या तोकिएको छ। ‘स्थायी समिति १५ सयको हाराहारीमा प्रस्ताव गरेको थियो, केन्द्रीय सदस्यबाट बढाउन सुझाव आयो, सुझावको आधारमा उक्त संख्या थपिएको हो।’

विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधि थिए। विधान अधिवेशनमा भन्दा धेरै घटाएको भन्दै बढाउन दबाब बढेको समेत उनले बताए । ‘दुई हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ,’ केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले भने, ‘हाम्रो सुझावकै आधारमा प्रतिनिधि संख्या बढाइएको हो।’

बैठकले समावेशिताको आधारमा प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमको उल्लेख्य प्रतिनिधि गराइने भएको छ। एमालेको प्रतिनिधि छनोट कात्तिक २७ मा एकै दिन हुने भएको छ।

यसैबीच, एमालेको १०औं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका छन् । केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्य पन्त र केन्द्रीय कार्यालय सचिव तामाङलाई थपेर मूल व्यवस्थापन समितिको संख्या २१ बाट बढाएर २३ र्पुयाएको छ।

एमाले प्रवक्ता ज्ञवालीले पन्त र तामाङलाई मूल व्यवस्थापन समितिमा थपिएको जानकारी दिए। समितिको संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे तथा सचिव विष्णु रिमाल छन्। अन्नपूर्ण पोष्ट

ताजा अपडेट
सम्बन्धित समाचार