काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोरिने छुट नभएको बताएका छन्। नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।
पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उनको भनाई थियो। देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्। अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न। यसले पार्टीलाई फाइदा नगर्ने बताए ।
फरक प्रसंगमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेललगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको पनि बताए। जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उनको टिप्पणी थियो। आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यवृद्धि तत्काल फिर्ता ल्याउन समेत माग गरे। नेपाल आयल निगमले शुक्रवार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।