काठमाडौँः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले विभिन्न नाममा गठन भएका भूमिसम्बन्धी आयोगले गरेको राम्रा कामको स्वामित्व ग्रहण गरिने बताइन् ।
सिंहदरबारमा (आज) शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रि श्रेष्ठले विभिन्न नाममा गठन भएका आयोगहरुले जनता र राष्ट्रको हितका लागि गरेका कामको स्वामित्व वर्तमान सरकारले लिने र राम्रा कामलाई निरन्तरता दिने बताइन् ।
उनले सरकारको अहिलेको दायित्व नै संविधानमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजाने र नागरिकले अनुभव गर्ने गरि काम गर्ने धारणा व्यक्त गरिन् । त्यस्तै उनले भूउपयोग नीतिमा देखिएका समस्याहरुलाई पनि समाधान गर्ने जिकिर गरिन् ।
बैठकमा समिति सदस्यहरुले भूमिहिनका समस्याहरु अझै पनि समाधान हुन नसकेको भन्दै योजना बनाएर काम गर्न सरकारलाई सुझाव दिएका थिए ।