विराटनगरः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले न्यायालय पुनर्संरचना गर्न नसक्दा अहिलेको समस्या उत्पन्न भएको बताएकी छन् । आइतबार बिहान विराटनगरमा संचारकर्मीहरूसँग न्यायालय विवादको विषयमा कुराकानी गर्दै उनले राजनीतिक पुनर्संरचनासँगै न्यायालय पुनर्संरचना गर्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताइन् ।
मन्त्री श्रेष्ठका अनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ, जसरी राजनीतिक संरचना परिवर्तन गर्ने र त्यहीअनुरूपको न्यायालय क्षेत्रमा पुनर्संरचना गर्न नसकेको हो । ‘राज्यसत्तालाई अड्याउने सेना, प्रहरी, प्रशासन न्यायालय जस्ता अंगहरू छन्, तिनीहरू राजनीतिक परिवर्तनसँगै पुनर्संरचना हुनुपर्दथ्यो, सँगसँगै गर्नुपर्ने हुन्थ्यो, अहिलेको अवस्था यसैको परिणाम हो।
उनले न्यायालयभित्र अझैपनि केन्द्रिकृत मानसिकता रहेको बताइन् । उनकन अनुसार त्यस्तो समस्या प्रशासनिक संंयन्त्र, राजनीतिक दललगायतमा पनि धेरथोर छ । भूमि आयोगको आयोजनामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धि प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेकी मन्त्री श्रेष्ठले भूमिहिनलाई लालपुर्जा वितरण कहिले हुन्छ भन्ने प्रश्नमा सवै कुरा मन्त्रीकै हातमा मात्रै नहुने पनि बताइन् ।