इनरुवा । प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रतिनिधि सभा विघटनले देश ठूलो दुर्घटना हुनबाट जोगिएको दावी गर्नुभएको छ ।
सुनसरीको दुहवीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्र नम्बर ३ को क्षेत्रीय विषेश अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कुसियैतले सरकारले प्रतिनिधि सभा विघटन गरेकाले देश दुर्घटनाबाट जोगिएको बताउनुभयो ।
वहाँले सनिबार कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशमा विकास गरेको सरकारको काम हेरेर आतिएका पार्टीका नेताकार्यकर्ताहरु घेराबन्दीमा पारेको र प्रतिगामीलाई फाईदा पुग्ने काममा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले सहयोग गरेको थाहा पाएर प्रतिनिधि सभा विघटन भएकाले अव देश दुर्घटनाबाट जोगिएको र नयाँ जनादेशबाट निकास खोज्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा मन्त्री कुसियैतले पर्यटन र वनको क्षेत्रमा सुनसरीको धरान सहित प्रदेशभरी राम्रो काम भएको समेत स्मरण गराउनुभयो । क्षेत्रिय भेला आयोजना गरेको नेकपाकी नेतृ भगवती चौधरीले पार्टीको सांगठिनक र आगामी रणनीति तय गर्नका लागि भेलाले योगदान गरेको बताउनुभयो । नेकपामा विभाजन देखिएपछि प्रचण्ड–नेपाल समूह र ओली समूहले औपचारिकरुपमै विभिन्न भेला गर्न लागेको हो । नेकपाको क्षेत्रिय भेलामा नेकपाका केन्द्रिय सदस्य रेवतीरमण भण्डारी, खेमराज पोखरेल, मुरारी सुवेदी, निलम बस्नेत, जिल्ला नेता खड्गनारायण उराँव, रोहित कार्की , तैयव हुसेन, लक्ष्मी गौतम, निलम बस्नेत, सुरेन्द्र मेहता, बालिम चौधरी सहित स्थानीय , प्रदेश र केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, इटहरीका उपप्रमुख लक्ष्मी गौतम, धरान उपप्रमुख मन्जु भण्डारी सहित जिल्लाका पदाधिकारीहरु, निर्वाचित तथा पूर्व सांसद तथा प्रदेशसभा सदस्यहरु सहभागी भएको पार्टीका नेता तथा दुहवी ३ का वडा अध्यक्ष माधव भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमबाट आगामी निवार्चन र संगठनको अवस्थाका बारेमा गम्भिर छलफल समेत गरिएको भण्डारीले बताउनुभयो ।