विद्यालयमा मातृ भाषाको शिक्षा दिनुपर्नेमा जोड

20.6k Shares

इनरुवा । सुनसरीको गढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले विद्यालयहरुमा मातृभाषामा शिक्षा दिनुपर्नेमा जोड दिएका छन् । भाषा आयोग काठमाण्डौंले गढी गाउँपालिकामा गरेको बहुभाषिक शिक्षा नमुना विकास तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले स्थानीय कला, संस्कृति र भाषा संरक्षणका लागि मातृ भाषामा शिक्षा दिनुपर्ने माग गरेका छन् ।

स्थानीय सरकारको भाषा नीति निर्माण तथा मातृ भाषा शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले आफनै भाषामा पठनपाठन गर्दा शिक्षण सिकाई उपलब्धि राम्रो हुने र अपनत्व महसुस हुने भएकाले मातृ भाषाको शिक्षा आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले मातृ भाषाको शिक्षा अहिलेको आवश्यकता भएको बताईन् । चौधरीले मातृ भाषाको शिक्षाको लागि गाउँपालिका तयार रहेको समेत प्रतिद्धता जनाईन् । सोही कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले मातृ भाषाको शिक्षा दिन आफूहरु तत्पर रहेपनि नीतिको अभाव र आवश्यक जनशक्ति तथा पाठयपुस्तक समेतको समस्या रहेको बताए ।

यादवले आफू गाउँपालिकामा थारु, उराँव, मैथिली लगायतका भाषामा पठनपाठनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले मातृ भाषाको शिक्षाले विद्यार्थीलाई बुझन र पठन समेत सहज हुने भएकाले आफू स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश र संघीय कानुन समेतलाई ध्यानमा राखी भाषा नीति निर्माण गरेर अगाडि बढ्ने बताए ।

यादवले काठमाण्डौंबाट भाषा आयोगले गाउँमै आएर दुईदिने कार्यक्रम गरेकोमा आयोगमा पदाधिकारीलाई धन्यवाद दिए । कार्यक्रममा गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले गाउँपालिकामा शिक्षामा मातृ भाषाको प्रयोग सम्भाब्यताको अध्ययन प्रतिवेदनले समेत मातृ भाषाको आवश्यकता औल्याएकाले गाउँपालिका आफनो श्रोत साधनले भ्याएसम्म प्रयास गर्ने बताए ।

कार्यक्रममा भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोरचनले भाषाको बारेमा प्रचार प्रसार र भातृभाषाको अभियान गाउँटोल घरसम्म पु¥याउनका लागि बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई अभिमुखिकरण गरेको बताए । त्यस्तै भाषाविद्ध अमृत योन्जनले समेत मातृ भाषाको प्रयोग शिक्षामा हुन जरुरी रहेको बताए ।

आयोगका बालबिक्रम राईले समेत बालबालिकाको मातृ भाषामै पठनपाठन गर्दा राम्रो हुने तर्क गरें । राईले बालमनोविज्ञान मातृभाषामा पढाउँदा असर पनि नपर्ने र सिकाई राम्रो हुने बताए । त्यसैगरी कार्यक्रममा नेपाल उराँव आदिबासि जनजाति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बेचन उराँवले घरदेखी विद्यालयसम्म मातृभाषाको प्रयोग आवश्यक रहेको बताए । उराँवले उराँव भाषाको शिक्षामा प्रयोग सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै मातृभाषाको शिक्षाले पढाईमा सकारात्मक असर परेको उल्लेख गरें ।

उनले जिल्लाको दुईवटा विद्यालयमा उराँव भाषाको मातृभाषा पठनपाठनले मातृभाषाको आवश्यकता र औचित्य पुष्ठि गरेकाले सबै भाषामा शिक्षण सिकाई हुनुपर्ने बताए । त्यस्तै प्रतिष्ठानका सम्पतलाल उराँव, परमेश्वर उराँव, गढीका शिक्षा शाखा प्रमुख छवि खड्का लगायतकाले पनि मातृभाषाको शिक्षाको आवश्यकता र औचित्य बारे बोलेका थिए । कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका ३६ विद्यालय तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार