६ नम्बर वडा कार्यालयको पेजको प्रयोग अनाधिकारिक, अध्यक्ष कामत कार्यालयको काम भन्दा छायांकनमा व्यस्त !

9.7k Shares
सम्बन्धित पार्टी

विराटनगरः विराटनगर महानगरपालिका वडा नम्बर ६ को कार्यालयको पेजबाट अनावश्यक पोस्टहरु भएको पाइएको छ । 
महानगरपालिकाको वडा ६ कार्यालयको आधिकारिक पेजको रुपमा रहेको सो पेजबाट वडा अध्यक्ष बिजय कामतले अभिनय गरेको विभिन्न गितहरु सार्वजनिक गरिएको पाइएको छ । 


कानुनतः वडा कार्यालयको नाममा रहेको पेजबाट वडा सम्बन्धि आधिकारिक सुचनाहरु मात्र प्रवाह गरिनुपर्ने जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार वडाबासीलाई विभिन्न सुचना छिटो भन्दा छिटो स्थानीयमा प्रवाह गर्न सो पेज बनाइएको हुनुपर्र्ने र उक्त पेजले ति जानकारीबाहेक हरु पोस्ट गर्न नहुने बताए ।जानकारहरुले सो पेजबाट वडामा हुनेगरेको विकास निर्माणको कार्य,जनसरोकार सम्बन्धि कार्य लगायत जनतालाई प्रविधिको माध्यमबाट सुचना प्रवाह गर्नुका निमती प्रयोग गरिपर्ने हुन्छ । 


तर वडा कार्यालयको सो पेजबाट जानकारी भन्दा बढी अध्यक्ष कामतद्धारा अभिनित गितहरुको प्रचार प्रसारको निम्ती प्रयोग हुने गरेको देखिन्छ  ।
यो क्रम नरोकिएपछि एक वडाबासीले जेनवान न्यूजलाई यो विषयमा खबर गरेका थिए । नाम नखुलाउने शर्तमा स्थानीयले वडा कार्यालयको आधिकारिक पेजको रुपमा लाईक गरिएको सो पेजबाट अनाधिकारिक सुचना प्रवाह भएको बताए । 

कार्यालयको काम भन्दा छायांकनमा व्यस्त वडा अध्यक्ष कामत

विराटनगर महानगरपालिका ६ का वडा अध्यक्ष बिजय कामत कार्यालयको काम छाडेर गीत छायांकनमा व्यस्त रह्ने गरेको आरोप पटक पटक लाग्ने गरेको छ । 

आज सोमबार पनि वडाको काम गराउन पुगेका स्थानीयहरु वडा अध्यक्ष कामत कार्यालयमा नभएको जानकारी पाए पछी जेनवनलाई सम्पर्क गरे । नाम नखुलाउने शर्तमा सो स्थानीयले वडा अध्यक्ष कार्यालय भन्दा यस्तै छायांकनहरुमा व्यस्त हुने गरेको जानकारी दिए । उनले वडा अध्यक्षको जिम्मेवारी पाए देखि हालसम्म आफ्नो जिम्मेवारी पूरा नगरेको बताए । 

वडाका एकजना वडा सदस्यले समेत सुरुवाती समयदेखि नै अध्यक्षको यहि रवैया रहेको जानकारी गराए । उनले जनताको काम कहिले पनि अध्यक्ष कामतको प्राथमिकतामा नपरेको जानकारी दिए । उनले अध्यक्ष कामतले प्रायः जसो गीतको छायांकनमा सरकारी गाडीको प्रयोग गर्ने गरेको समेत बताए । 

यता अध्यक्ष कामतलाई सो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मोबाइलमा फोन लागेन । उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गीतको सुटिङमा भएको जानकारी सार्वजनिक गरेका छन् । 
जनताले जिताएको वडा अध्यक्ष जनताकै काममा जिम्मेवार हुन नसक्नु दुस्खद भएको जन गुनासो उठ्न थालेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार