काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य दयालबहादुर शाहीले आफ्नो पार्टीको सरकार रहँदैगर्दा विपक्षी दलका नेताको ढोकामा गएर प्रधानमन्त्री भइदिनुहोस भन्ने नेता प्रचण्ड र माधव नेपाल रहेको टिप्पणी गरेका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै उनले विपक्षीलाई सत्ता बुझाउने नेता विश्वमा दुईवटा मात्र रहेको भन्दै सामान्य ज्ञानमै यस्तो प्रश्न सोध्न सकिने विषय भएको उल्लेख गरेका हुन् ।
साथै, उनले कहिलेकाहीँ विरालोको भाग्यले दही पोखिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका थिए । यस्तै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पछिल्लो अभिव्यक्तिले अदालतसँग सेटिङ गरेर यो सरकारको आएको पुष्टि भएको पनि दाबी गरे । केही दिन अघि प्रचण्डले अदालतले लगाएको गुण नबिर्सिने बताएको कुरा स्मरण गराउँदै अब त्यो गुण तिर्नुपर्ने उनको टिप्पणी थियो ।
शाहीले नेपाली राजनीतिमा प्रचण्डले सबैलाई ठगेको स्मरण गराए । र, आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबारे ओलीले प्रचण्डलाई ठग्न सक्नु ओलीकै महानता भएको भन्दै उनले गुण गाए ।