काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिएका हुन् ।
कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गरेका छन् । ८५ मतको अन्तरमा पुन निर्वाचित भएका हुन् ।
पदाधिकारीमा एक सभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी भएका छन् ।
गृहमन्त्री खाण देउवाका विश्वासपात्र समेत मानिन्छन् । तर, आफ्नै प्रदेश लुम्बिनी प्रदेशको प्रथम अधिवेशन तथा जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतीजाले महामन्त्री बन्ने खाँणको चाहनामा गम्भीर धक्का पुग्ने देखिएको छ । गृहमन्त्री खाण पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । खाँणकै गृहजिल्ला रुपन्देहीका १० प्रदेशसभा क्षेत्रमा पनि उनको निर्वाचन क्षेत्रमा मात्र पकड देखिएको छ ।
गृहजिल्लाको नेतृत्व खाँणकै भाइ रामकृष्णले पाए पनि अन्य पदाधिकारी तथा सदस्यमा पौडेल पक्ष हावी छ । रुपन्देहीका प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा भने संस्थापनकै उम्मेदवार विजयी भएका थिए ।
तर, लुम्बिनी प्रदेशको समग्र नतिजा हेर्दा खाण निकै कमजोर देखिएका हुन् । प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ । दुईवटामा मात्र संस्थापन पक्षका उम्मेदवारले जितेका छन् भने बाँके जिल्लाको अधिवेशन भएको छैन ।
यसअघि भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका थिए । यसबाट पनि खाँणको पकड कमजोर हुँदै गएको पुष्टि हुने संस्थापन समूहकै एक नेताले बताए ।
गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाँण समूहको प्यानल नै पराजित भएको थियो ।
सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाँणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए । संस्थापनइतर समूहका नेता कुमार केसीले प्रदेशको समगै नतिजालाई हेर्दा खाँण कमजोर देखिएको बताए ।
२०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उनी समानुपातिकमा बसेका थिए । रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उनी समानुपातिकमा बसेका थिए । स्थानीय तहको निर्वाचनमा तिलोत्तमा
नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका खाँणका भाइ रामकृष्ण खाँण एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । तर, अब आउने संघीय संसदको निर्वाचनमा भने खाण रुपन्देही क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको उनी निकट कार्यकर्ताहरू बताउँछन् ।