काठमाडौँ: संगठन विस्तारको क्रममा देश दौडाहामा हिँडेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज झापा पुगेका छन् । उनले आज झापामा नेपाल खेलकुद महासंघ, समाजवादीको १ नम्बर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सोही बखत दमकमा युवा संघ नेपालको नगर कमिटी घोषणा गरिएको छ । दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । सो अवसरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरुको उपस्थिति थियो ।
यसअघि उनले गत शनिबार अर्घाखाँचीमा आयोजित कार्यकर्ता भेलामा पुगेका थिए। जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको धारणा राखेको बताइन्छ । दुबै जिल्लामा आयोजित कार्यक्रममा स्थानीय नेता,कार्यकर्ता र शुभचिन्तक तथा समर्थकको बाक्लो उपस्थिति रहेको आयोजकहरुले दावी गरेका छन् ।