काठमाडौँ: नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन्। उनले पहिलो चरणमा कसैले पनि सभापति जित्न नसक्ने बताउँदै दोस्रो चरणमा मोर्चाबन्दी हुने बताएका हुन्।
कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले सभापतिमा जित्ने दाबी गरे।
दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाइ थियो।
देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएको निधिले उल्लेख गरे। उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए।