काठमाडौं: काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसले १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा सभापतिका प्रत्यासी युवराज न्यौपाने र सहमहामन्त्रीका प्रत्यासी सुरेन्द्रप्रसाद चौधरी तथा ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।
महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्यका १३ जना पदाधिकारीसहित १३४ पदका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् ।