विवाद समाधान नभएसम्म चुनाव हुँदैन !

11.3k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेकपाको प्रचण्ड-नेपाल समूहले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने निर्वाचन आयोगलाई बताएको छ।

आयोगमा आज भएको बैठकमा सहभागी प्रचण्ड-नेपाल समूहका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन्।

‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ? नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ पोखरेलले भने।

नेकपामा ओली र प्रचण्ड नेपाल समूह क्रियाशील छ। तर आयोगले कसैलाई पनि आधिकारिकता भने दिएको छैन। पार्टी स्थापना गर्दाको ४४१ सदस्यीय केन्द्रीय समिति भएकोलाई आयोगले मान्यता दिएको र त्यसपछि थपेका केन्द्रीय सदस्यलाई आयोगले मान्यता दिएको थिएन।

आयोगले निर्वाचन आचारसंहिताबारे दलका प्रतिनिधिहरूसँग आज छलफल गरेको हो। आयोगमा १४ दल छलफलमा सहभागी छन् भने नेकपाबाट ओली समूहका नेता बाबुराम दाहाल र प्रचण्ड-नेपाल समूहबाट पोखरेल सहभागी छन् साथै काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन्।पोखरेलका अनुसार निर्वाचन आचारसंहिताबारे आयोगले मस्यौदा प्रस्तुत गरेको थियो। आचारसंहिता उलंघन गरेमा एक लाख जरिवाना र उम्मेवारी नै खारेज हुन सक्ने आचारसंहिता रहेको छ।

पोखरेलले निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने समेत बताएका थिए। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने पोखरेलको भनाइ थियो। सरकारले वैशाखमा दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार