काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले सो कुरा गरेका हुन् ।
उनले भने -'कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुप¥यो, अध्ययन गर्नुप¥यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धि किन गरुँला : त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छन्। '
विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै उनले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको बताए ।
उनले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको पनि बताए । उनले भने -'यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको हो । म त चाहन्छु यो अझै अगाडि जाओस्। ' file photo