काठमाडौं: शेरबहादुर देउवाको नेतृत्वमा रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस इतिहासकै ठूलो संकटमा फसेको छ ।
बाहिरी राजनीतिभन्दा पनि आन्तरिक राजनीतिले कांग्रेस अफ्ठेरोमा परेको हो । देउवाले समयमै महाधिवेशन नगराउँदा लामो इतिहास बोकेको पार्टी कांग्रेस पार्टी नै खारेज हुने अवस्थामा पुगेको हो ।
कांग्रेसले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर आज ५ गते वितिसक्दा पनि कुनै तयारी छैन । उल्टै आज बैठक बसेर थप्ने तयारी छ । कोरोना महामारीलाई देखाएर देउवाले महाधिवेशन गर्न सकेनन् ।
आजको केन्द्रीय कार्यसमिति बैठकले नयाँ मिति घोषणा तथा पार्टीको केन्द्रीय समितिको म्याद थप्ने तयारी रहेको बुझिएको छ ।
यस्तो अवस्थामा म्याद थप्न पाउने यो अन्तिम अधिकार हो देउवाका लागि । अब भदौसम्म म्याद थप्न सकिनेछ । त्यसअगावै जसरी पनि महाधिवेशन गराउनुपर्ने छ । गर्न सकिएन भने पार्टी स्वत खारेज हुनेछ ।
अब संवैधानिक प्रावधान अनुसार ६ महिना कार्यकाल थप गर्न मिल्छ । संविधानको धारा २६९ को उपधारा ४ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेका ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न वाधा पर्ने छैन भन्ने रहेको छ । यसअनुसार अब थप गरिने ६ महिना भनेको अन्तिम समय हो ।
यदि अबको छ महिनाभित्र महाधिवेशन हुन नसकेमा या त दलहरुको विचमा सहमति भएर संविधान संशोधन गरेर महाधिवेशन गर्ने समयावधि अगाडि बढाउनुपर्छ । अर्को विकल्प भनेको कांग्रेसले कुनै दलसँग एकता गर्ने र पार्टीको नाममा केही सामान्य परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने हो ।
यसरी नयाँ दलको रुपमा दर्ता गरेपछि त्यसको अवधि अर्को साढे पाँच वर्ष हुनेछ । यस विकल्पमा समेत पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेको तर नाम नै परिवर्तन गर्दा गलत सन्देश जाने भन्दै पछाडि हटेको बुझिएको छ । यो प्रयासमा देउवा असफल भएका छन् ।
अब देउवासामु ६ महिनामा महाधिवेशन गर्नुबाहेक अरु विकल्प सम्भव छैन । किनभने अहिले संसद छैन संविधान संशोधन गरेर कार्यकाल बढाउन । त्यसकारण रामचन्द्र पौडेल समूहले समयमै महाधिवेशन गराउन सभापति देउवामाथि चौतर्फी दबाब बढाइरहेको छ ।