काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई अरु देशबाट आउन सक्ने खतराबाट टार्न राजसंस्था अनिवार्य रहेको बताएका छन् ।
स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाललाई अन्य देशबाट आउन सक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरेका गरेका छन् ।
लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गरे । राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङदेनले बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।