माओवादीमा नेतृत्व चयनका लागि आज प्रक्रिया, महाधिवेशन भोलिसम्म टुङ्गिने 

14k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पुुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने काम बिहिबार सकिएको छ। छलफलबाट प्रतिवेदनमाथि विभिन्न सुुझावहरु आएका छन्।

अध्यक्ष प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको थियो। प्रत्येक समूहबाट २ जनाले समूहगतरुपमा धारणा पेश गरेका थिए। २५ समूहले दिएका सुझाब प्रश्नमाथि शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन्।

उनीहरुले समानुपातिक पदहरुमा एक कार्यकाल मात्र पठाउनु पर्ने, अवसरको वितरणमा आलोपालो प्रणाली अपनाउनुपर्ने, केन्द्रीय नेताहरुको सम्पत्ति विवरण वार्षिक रुपमा सार्वजनिक गर्नुपर्ने लगायतका सुझाव दिएका छन्। माओवादीको बन्दसत्र फेरि आज अपराह्न १ बजेबाट सुरु हुनेछ । त्यसपछि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।

त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ देवप्रसाद गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ।

बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिस्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाईंले निष्कर्ष प्रस्तुत गरेका थिए।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ। नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको हो। निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीको छ। सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले प्रक्रिया अघि बढाएको हो।

 

ताजा अपडेट
सम्बन्धित समाचार