काठमाडौं: कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक भएको छ ।
सार्वजनिक भएको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् । यस्तै महामन्त्री गगन थापा चौथो र विश्वप्रकाश शर्मा को वरीयता पाँचौ स्थानमा रहेको छ ।
सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा।शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।
सभापतिका निकटतम प्रतिस्पर्धी डा शेखर कोइराला २०औं वरियतामा रहेका छन् । सहमहामन्त्री सुनीलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ ।
देउवाले सभापतिमा पराजित कोइरालाभन्दा अगाडि राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका पूर्वसहमहामन्त्री थापालाई राखेका हुन् । थापाको वरीयता नम्बर १९ छ ।
उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् । निवर्तमान केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औं वरीयतामा रहेकी छिन् ।
यसअघि सभापतिमा पराजित हुने उम्मेदवारलाई दोस्रो÷तेस्रो वरीयतामा राख्ने कांग्रेसको परिपाटी भए पनि देउवाले यसपटक शेखरलाई २०औँ नम्बरमा राखेका हुन् । कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए ।
पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराजित देउवालाई दोस्रो वरीयतामा राखिएको थियो । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि उनलाई दोस्रो वरीयतामै राखिएको थियो ।
१३औँ महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनै देउवाले दोस्रो वरीयतामा राखेका थिए । तर, शेखर १३औँ महाधिवेशनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने उम्मेदवार हुन् । उनलाई देउवाले पार्टीको वरीयतामा ३६औँ नम्बरमा राखेका थिए ।
सभापतिमा ४० प्रतिशत मत ल्याएका शेखरलाई देउवाले वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी भन्दा पनि पछिको वरीयतामा राखेका हुन् ।