काठमाडौं: नेकपा (माओवादी केन्द्र) को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ। यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको हो। शनिबार साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको हो। शनिबार साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन्। केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ।
आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ। नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ। त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ। जसमा खुलातर्फ १४५ जना हुने छन्। भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन्।
महाधिवेशनस्थल कमलादीमा शनिबार साँझको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरे। अध्यक्षले गरेको प्रस्तावलाई बन्दसत्रले स्वीकार गर्दै आजको सबै प्रक्रिया आजसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यसअघि शनिबारको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो। बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए। उनले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि सर्वसहमतिले पारित गरेको थियो। नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ।
गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गरेका थिए। मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो। समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो। बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए। एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो। शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गरेका थिए।