काठमाडौँ: बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।
सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५-५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ ।यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार-चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १-१ सिट पाउने गरी भागबण्डा भएको छ ।
यसअघि जुन-जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।