काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मंगलबार धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडीलाई कारले ठक्कर दिएको हो ।
सो गाडीलाई ठक्कर दिने कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनी सवार सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई ठक्कर दिने बा ४ च १३७७ नम्बरको कारका चालक पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
कडायतले हाँकेको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिनुअघि गाईलाई ठक्कर दिएको थियो। धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गर्दा आलेको गाडीलाई कारले हानेको हो। ठक्करले गाडी क्षतिग्रस्त भए पनि मन्त्री आलेसहित सबै जना सुरक्षित रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
उनका अनुसार मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गएका छन्। कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै दुर्घटना भएको हो । जानकारी अनुसार कारले पहिले गाईलाई ठक्कर दिएको थियो ।
त्यसपछि अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको प्रहरीको भनाई रहेको छ । कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी हुन् । -न्यूज भण्डार