राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा एक्लै चुनाव लड्दै राप्रपा,अन्य प्रदेशमा सहभागी नहुने निर्णय

12.2k Shares

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई बैठकले निर्देशन दिएको छ ।

अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित तीन जनाको पद रिक्त भएको हो । प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरूङको कार्यकाल सकिएर पद रिक्त भएको हो।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ। यसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ रहेको छ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशको गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ। प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ।

राप्रपाको मत एमालेलाई गएको अवस्थामा पनि गठबन्धन २४ मतले अगाडि हुने अवस्था थियो । तर राप्रपाले आफ्नो उम्मेदवार बनाएपछि एमालेलाई थप अप्ठ्यारो परेको छ ।

प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० तहका उपाध्यक्ष र उपमेयर छन्। प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५७४ मतभार छ।

नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ छन्। कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार २ हजार ७३६ छ। नेकपा माओवादी केन्द्र १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन्।

माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका ११ जना जनप्रतिनिधि छन्।

स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जनाको मतभार १९८ रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ। प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार रहेको छ।

प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार